Saturday, April 23, 2011

म निकाल्न दिन्न हावाबाट बिजुली

निस्तेज

खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!

यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो
र यो धर्ति पनि थियो मेरो
तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ
र सिंचाई गर्न सिक्यौ
बुझ्यौ नदीहरू को जीवनचक्रको रहस्य
अनि तिमीले निकाल्यौ
नदीहरूको बिजुली
र नहरहरूमा बाँध्यौ नदी हरूको स्वतन्त्रता
र बेच्यौ बजारमा लगेर
त्यहाँ, जहाँ सम्म मेरो पँहुच थिएन
यसैले म वंचित भए
ती नदी हरूबाट
म वर्जित गरिए मेरो नैसर्गिक अधिकारबाट

यो धर्ती मेरो पनि थियो हुन त
तिमीले सिक्यौ खेती गर्न
र सिके मैले पनि
तिमीले गर्यौ आविष्कार उत्पादन वृद्धिका
कैयन विधिहरू
र लग्यौ सम्पूर्ण उत्पादन बजारसम्म
जहाँ म पुग्न भ्याउन्न थे
र सुम्प्यौ मलाई
तिनै वर्जना र वन्चनाहरू

म तैपनि जेनतेन बाँचे
घन्टौं टाढाको पानी र
महिनौ टाढाको भोजन कुरेर
तर म बाँच्न सक्दिन
केहि मिनेट पनि हावा पर्खेर

त्यसैले होस् राख
परीक्षा नलेउ मेरो धैर्यको
ननिकाल तिमि हावाबाट बिजुली
न बेच मेरो हावा दूर-देशमा
मलाई यो वन्चना स्वीकार छैन
मलाई यो वर्जना स्वीकार छैन.

२०६६/०१/०२

म निकाल्न दिन्न हावाबाट बिजुली


Tuesday, April 19, 2011

एक दर्जन एक हाइकु


बिर्सिने यत्न
थपिंदै गैरहेका
सम्झनाहरू!


अनिंदो रात
बरालिएका स्वप्न
व्यर्थ प्रतीक्षा!


प्रेम संयोग
चुलेसीको आँसुमा
रक्तिम छायाँ!


नयाँ बस्तीमा
बसाईं सर्न आ'को
पुरानो घर!


राजधानीले
अखबार पढाई
रजाईं गर्ने!


खाऊँ भनेको
बासी भातमा देखें
झिंगाको डिंगो!


नमस्ते सर
बेरोजगार देश
जागिर खोज्दै!


हाम्रो मिलन
अधुरै रहने भो
सरकार झैं


पहिलो गाँस
बहुमतको भास
प्रस्तराभास!

१०
क्षीर सागर
रुँदैछ काकाकूल
अतृप्त प्यास!

११
बाउको बिर्ता
जे मन लाग्छ गर
संविधानसभा

१२
जन-स्वप्नमा
दाइँ खेल्न आतुर
जननायक!

१३
ए अखबार!
दुरबिनले हेर
कर्णाली वारि!

निस्तेज
२०६८ वैशाख ०६
धनगढी

Thursday, March 3, 2011

तिम्रो आगमन

निस्तेज

मनमा तरङ्ग
जसरी वसन्त
नौलो उमङ्ग
जसरी भो अन्त
एकाकीपन
सपनामा तिम्रो
जब आगमन ।१।

कुहुमा वितान
मरूमा सरित्
कोयलको गान
मन झङ्कृत
पुलकित छ मन
सपनामा तिम्रो
जब आगमन ।२।

जीवनको राग
गर्दै आलाप
धुली मनको दाग
सब भो सखाप
मनमा विजन
सपनामा तिम्रो
जब आगमन ।३।

झुक्दै नजर
काँप्दै अधर
त्यो प्रिय डर
रही रातभर
दिन्थ्यो जलन
सपनामा तिम्रो
जब आगमन ।४।

यहि प्रार्थना
न प्रभात होस
यही तिर्सना
बस रात होस
नटुङ्गिने होस सपन्
सपनामा तिम्रो
जब आगमन ।५।

हा दैव हे !
यो स्वप्न हो
निद्रा रहे
मिल्ने न हो
कटु खूब रात
हा सत्य बात !
हुन्छ प्रभात
निम्त्याउँछु ऊषागमन
सपनामा तिम्रो
होस आगमन ।६।

रचनाकाल:
२०६०/१०/२३
विशालनगर, धनगढी

Saturday, January 22, 2011

गजल

निस्तेज

छिमेकी खूब राम्रो भैदिनाले
यता बाढी उताका बाछिटाले

खुसी खै, खै पीडा, र जिन्दगी खै
गजल बन्दैन मात्रै काफियाले

गरूँ फरियाद कुन इजलासमा गै
जगै घरको बिगारे माथिकाले

झरेछन् फूल आरू-बोटबाट
झरी बेमौसमी यो बर्सिनाले

उज्यालो मेट्दछ अस्तीत्व जसको
दीयो काँ बाल भन्थ्यो यो निशाले ।

Wednesday, January 19, 2011

गजल

मायाँ मलाई साँच्चै गर्ने विचार राखी
बस्थ्यौ कहाँ बगलमा तीखो कटार राखी

पत्याउँ पो कसोरी हौ फूल यो तिमी नै
रङ्गीन भो र पतझड नाउँ बहार राखी

नाता तिमी र मेरो हो कि उही जुनी को
जाँदैछु आज फेरी बाँकी उधार राखी

खै के त यो गरेको मेरै भलो चिताइ
बाँड्यौ बहार मेरै पालो पुछार राखी

तिम्रो कथा छ बेग्लै मेरो पृथक कहानी
बस्छु नता म साथी खुल्लै यी द्वार राखी
http://www.majheri.com

Sunday, January 2, 2011

गजल

निस्तेज

नजाती त होवैन है प्यार यो
अझै के गरेको त इन्कार यो

पिलाऊ अधर या नयनले अनि
बडो खुब फल्नेछ व्यापार यो

अधुरो जियौ जिन्दगी के जियौ
लिई मात्र शङ्का निराधार यो

सदाचारको यो दुराचारको
यहाँ व्यर्थ चर्चा छ बेकार यो

बलेको छ निस्तेज यै प्यारले
यसैको भरोसा छ संसार यो

२०६४ फागुन

Saturday, January 1, 2011

गजल

निस्तेज

हृदय भाव उर्ली गजल बन्दथ्यो
बहर काफियाले कहाँ गन्दथ्यो

मलाई ऊ साँचेर श्मशानमा
स्वयंलाई नाप्दै डउर खन्दथ्यो

परेवा त निर्धो थियो व्योममा
समयले गुलेली छ काँ भन्दथ्यो

हुरी हुण्डरी माझमा घर थियो
र आँगन र गल्ली पवन मन्द थ्यो

यतै भावना भेल निर्बन्ध थ्यो
यतै काफिया ठस्ठसी कन्दथ्यो

म निष्पट्ट निस्तेज थे रात थे
उजेलो नभेरै त आनन्द थ्यो

बुझेनौं त्यहाँ राग कस्तो थियो
फरक गीत गा थ्यौ फरक छन्द थ्यो ।



रचना :२०६७/९/१२