Tuesday, April 19, 2011

एक दर्जन एक हाइकु


बिर्सिने यत्न
थपिंदै गैरहेका
सम्झनाहरू!


अनिंदो रात
बरालिएका स्वप्न
व्यर्थ प्रतीक्षा!


प्रेम संयोग
चुलेसीको आँसुमा
रक्तिम छायाँ!


नयाँ बस्तीमा
बसाईं सर्न आ'को
पुरानो घर!


राजधानीले
अखबार पढाई
रजाईं गर्ने!


खाऊँ भनेको
बासी भातमा देखें
झिंगाको डिंगो!


नमस्ते सर
बेरोजगार देश
जागिर खोज्दै!


हाम्रो मिलन
अधुरै रहने भो
सरकार झैं


पहिलो गाँस
बहुमतको भास
प्रस्तराभास!

१०
क्षीर सागर
रुँदैछ काकाकूल
अतृप्त प्यास!

११
बाउको बिर्ता
जे मन लाग्छ गर
संविधानसभा

१२
जन-स्वप्नमा
दाइँ खेल्न आतुर
जननायक!

१३
ए अखबार!
दुरबिनले हेर
कर्णाली वारि!

निस्तेज
२०६८ वैशाख ०६
धनगढी

No comments:

Post a Comment