Saturday, January 3, 2015

गज़ल



दसैं-तिहारको रमझम सहरमा छाईरा'को छ
 भुवन आफ्ना पुराना बूट नै चम्काईरा'को छ

बिहानै देखि नै मान्छे यहाँ झोक्राईरा'को छ
खुसीको तिर्सना गोरु बनाई दाईरा'को छ

लिई गोजी भरी पैसा हिजै गा'थ्यो लुगा किन्न
त्यति पैसा भए रुमाल मात्रै पाईरा'को छ

थियो सल्लाह डाक्टरको लिनू आहार 'न्यूट्रीसस्'
हजूर याँ माँड नै पाएन मेरो पेट गाना गाईरा'को छ

टिका-जमरा, मिठो खाना अनि त्यो दच्छिना भेटी 
दसैंको भूतले निस्तेज मन तर्साईरा'कोछ ।

निस्तेज धनगढ़ी

Sunday, April 7, 2013

कवि

 

Bhuwan,Nistej,भुवन निस्तेज, pallawa, पल्लव
भुवन निस्तेज
साउनको दलिनमा
साँझ पख
गफिन आएको बादलले
सशंकित
भिराला बस्तीहरूलाई
जाग्राम बस्न लाए झैं
हाकिम सा’बको
वक्र मुस्कानले
फेरि जुम्सिएको छ
मेरो उमंग
दराजभित्र
थन्किए झैं
काम लाग्न सक्ने
तर कम जरुरी
कुनै फाइल ।

निस्तेज
निस्तेज भएको छ
खुशीहरूको
बाली बनी भित्रिने चेष्टा
आग्रहहरूले
सलहको फौज बनेर
फेरि रित्तो पारेका छन्
जीवन फल्ने गरा ।

यो नदिको बगरमा
धारिला ढुंगाहरूमा
म नांगा खुट्टा लिई
कहिले भिरालो बस्ती
कहिले जुम्सो मुस्कान
र कहिले
सलहले रित्याएको गरा भएर बसेको छु
मान्छे ! ए मान्छे !!
यो बगरका
यी धारिला ढुंगाहरूमा
हराएको छ
एउटा कवि !

घनगढी, माघ ११, २०६९

http://pallawa.com.np/2013/03/%e0%a4%95%e0%a4%b5%e0%a4%bf/

Monday, March 18, 2013

गजल

निस्तेज

जुन छातीमा घाऊ हुन्नथ्यो फालीले
त्यै भो घायल ऐले फूलको लालीले

निर्धो पक्षी काँ गै बस्ने होला खै
छेवैमा किन आइस् भन्छ डालीले

फुलबारीमा थुङ्गा-थुङ्गा बाझ्दैछन्
कुन मौसममा बिऊ रोप्यो मालीले

बेघरको पीडा के हो बुझ्दैछु म
'घरवाला' बन् भन्दैछे घरवालीले

आलो पालो सबको पालो आउँछ नै
मायाको ठाऊँ ली रा'छ गालीले

यात्री थाके बस्ने यौटै चौतारी
तेरो मेरो गर्दैन द्यौरालीले

कस्तो खेती गर्दैछौ 'निस्तेज' तिमी
घर भर्छु भन्छौ अक्षरको बालीले ।

गजल


निस्तेज 
उनको घरमा के एक दिन बसाइ भयो
आज सम्म फगत जग हँसाइ भयो

भूल  आफ्नै नजरले गर्यो के गरुँ
द्यौता जसलाई भन्थे कसाइ भयो

मनसुबा नै रहेछ कि पापी कसो
ओठले नै छुनु  नि डसाइ भयो

के गरेन भनूँ घात उसले सखे
मेरा निम्ति चुलेसी यो जाइ भयो

प्रेम पतझड् हुँदामा पो हेला भयो
पालुवामा त खूब हाइहाइ भयो

के गर्यो आज मौसमले यस्तो असर
बैरी भाईको नै आज भाई भयो 

गुञ्जन मासिक 
माघ २०६१ 

Friday, October 19, 2012

गज़ल


दसैं-तिहारको रमझम सहरमा छाईरा'को छ
 भुवन आफ्ना पुराना बूट नै चम्काईरा'को छ

बिहानै देखि नै मान्छे यहाँ झोक्राईरा'को छ
खुसीको तिर्सना गोरु बनाई दाईरा'को छ

लिई गोजी भरी पैसा हिजै गा'थ्यो लुगा किन्न
त्यति पैसा भए रुमाल मात्रै पाईरा'को छ

थियो सल्लाह डाक्टरको लिनू आहार 'न्यूट्रीसस्'
हजूर याँ माँड नै पाएन मेरो पेट गाना गाईरा'को छ

टिका-जमरा, मिठो खाना अनि त्यो दच्छिना भेटी 
दसैंको भूतले निस्तेज मन तर्साईरा'कोछ ।

निस्तेज धनगढ़ी

Saturday, April 23, 2011

म निकाल्न दिन्न हावाबाट बिजुली

निस्तेज

खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!

यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो
र यो धर्ति पनि थियो मेरो
तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ
र सिंचाई गर्न सिक्यौ
बुझ्यौ नदीहरू को जीवनचक्रको रहस्य
अनि तिमीले निकाल्यौ
नदीहरूको बिजुली
र नहरहरूमा बाँध्यौ नदी हरूको स्वतन्त्रता
र बेच्यौ बजारमा लगेर
त्यहाँ, जहाँ सम्म मेरो पँहुच थिएन
यसैले म वंचित भए
ती नदी हरूबाट
म वर्जित गरिए मेरो नैसर्गिक अधिकारबाट

यो धर्ती मेरो पनि थियो हुन त
तिमीले सिक्यौ खेती गर्न
र सिके मैले पनि
तिमीले गर्यौ आविष्कार उत्पादन वृद्धिका
कैयन विधिहरू
र लग्यौ सम्पूर्ण उत्पादन बजारसम्म
जहाँ म पुग्न भ्याउन्न थे
र सुम्प्यौ मलाई
तिनै वर्जना र वन्चनाहरू

म तैपनि जेनतेन बाँचे
घन्टौं टाढाको पानी र
महिनौ टाढाको भोजन कुरेर
तर म बाँच्न सक्दिन
केहि मिनेट पनि हावा पर्खेर

त्यसैले होस् राख
परीक्षा नलेउ मेरो धैर्यको
ननिकाल तिमि हावाबाट बिजुली
न बेच मेरो हावा दूर-देशमा
मलाई यो वन्चना स्वीकार छैन
मलाई यो वर्जना स्वीकार छैन.

२०६६/०१/०२

म निकाल्न दिन्न हावाबाट बिजुली