Monday, March 18, 2013

गजल

निस्तेज

जुन छातीमा घाऊ हुन्नथ्यो फालीले
त्यै भो घायल ऐले फूलको लालीले

निर्धो पक्षी काँ गै बस्ने होला खै
छेवैमा किन आइस् भन्छ डालीले

फुलबारीमा थुङ्गा-थुङ्गा बाझ्दैछन्
कुन मौसममा बिऊ रोप्यो मालीले

बेघरको पीडा के हो बुझ्दैछु म
'घरवाला' बन् भन्दैछे घरवालीले

आलो पालो सबको पालो आउँछ नै
मायाको ठाऊँ ली रा'छ गालीले

यात्री थाके बस्ने यौटै चौतारी
तेरो मेरो गर्दैन द्यौरालीले

कस्तो खेती गर्दैछौ 'निस्तेज' तिमी
घर भर्छु भन्छौ अक्षरको बालीले ।

गजल


निस्तेज 
उनको घरमा के एक दिन बसाइ भयो
आज सम्म फगत जग हँसाइ भयो

भूल  आफ्नै नजरले गर्यो के गरुँ
द्यौता जसलाई भन्थे कसाइ भयो

मनसुबा नै रहेछ कि पापी कसो
ओठले नै छुनु  नि डसाइ भयो

के गरेन भनूँ घात उसले सखे
मेरा निम्ति चुलेसी यो जाइ भयो

प्रेम पतझड् हुँदामा पो हेला भयो
पालुवामा त खूब हाइहाइ भयो

के गर्यो आज मौसमले यस्तो असर
बैरी भाईको नै आज भाई भयो 

गुञ्जन मासिक 
माघ २०६१